रोटरी मेडिकोफ्युजनद्धारा ‘जथाभावी नथुकौं’ अभियान सुरु

रोटरी मेडिकोफ्युजनद्धारा ‘जथाभावी नथुकौं’ अभियान सुरु

रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ ।

थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको हो । अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न तत्पर रहेको बताए ।

युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा थुककैं कारण विभिन्न प्रकारका संक्रामक रोगहरु फैलिने गरेका छन् । एक सय वर्ष अघि युरोपमा स्पेनीश फ्लु को महामारी फैलिँदा गाडी र टोल
टोलमा “जथाभाबी नथुकौ । थुकले मृत्यु फैलाउछ ।” भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरुगर्नुपरेको डा. पोखरेलले बताए । उनका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ । ‘अब आजैबाट हामी सबैले जथाभाबी
नथुक्ने प्रण गरौं ।’ उनले भने, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ ।’ कोरोना रोग समेत थुकबाटैं सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उनको भनाइ छ ।

कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिव इन्जु ज्ञवाली, अप्सरा नेपाललगायतले अभियानको महत्वको बारेमा प्रकाश पारेका थिए । रोटरी
ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका श्रीमान÷श्रीमतीहरु आवद्ध रहेका छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक रहेको बताइएको छ ।